Thursday, October 3, 2024

कवि विमल निभाको कवितासंग्रह ‘सत्र भोका काग’ सार्वजनिक

 


काठमाडौँ — कवि, व्यग्यंकार, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको नयाँ कविता–संग्रह ‘सत्र भोका काग’ २०८१ साल असोज १५ गते मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू नयनराज पाण्डे, रेशम विरही, नारायण ढकाल, पुरुषोत्तम सुवेदी, अमर गिरी, मातृका पोखरेल, शार्दूल भट्टराई र कवि स्वयंले किताब विमोचन गरेका थिए । 

कार्यक्रममा विमलका कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए पुरुषोत्तम सुवेदीले । ‘विमल निभाको जीवनको अधिकांश समय जनताका र भुइँमान्छेका आवाज बनेर बिते,’ उनले भने, ‘सरल, असरदार कविता लेख्ने सचेत राजनीतिक कवि हुन् निभा । उनले नेपाली कवितालाई नयाँ स्वरूप प्रदान गरेका छन् ।’ सुवेदीले विमल निभालाई ‘जनकवि’ उपाधि प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा निभाले ‘रेल’, ‘सुझाव’ र ‘मृत्यु’ शीर्षकका तीन कविता वाचन गरेका थिए । ‘सत्र भोका काग’ कविता संग्रहमा कथाकार/कवि राजवले लेखेका छन्, ‘कविता कुन हदसम्म कलात्मक रूपले सहज, सम्प्रेष्य र सुस्वादु बन्नसक्छ, जनपक्षधर हुनसक्छ भन्ने दुर्लभ उदाहरणमा पर्ने कवि हुन् विमल निभा ।’

यसअघि कवि निभाका ‘आगोनेर उभिएको मानिस’, ‘डेगेन्द्र राजवंशीको आत्महत्या’, ‘एउटा बाहुला नभएको बुसर्ट’, ‘जोकरको बन्दुक’ र दुई व्यंग्य निबन्ध संग्रह ‘चौथो कालम’ र ‘डाइनोसोर जिउँदो छ’ प्रकाशित छन् । ‘सत्र भोका काग’ रेड पाण्डा पब्लिकेशनले प्रकाशित गरेको हो ।

000

https://ekantipur.com बाट साभार 








Saturday, July 27, 2024

‘अमरज्योति साहित्यिक त्रैमासिक’को ६२ औँ अङ्क लोकार्पण कार्यक्रम सम्पन्न



नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘अमरज्योति साहित्यिक त्रैमासिक’को ६२ औं अङ्क (समालोचना विशेषाङ्क) २०८१ लोकार्पण गर्नुका साथै साहित्य समाजका पदाधिकारीहरूलाई स्रष्टा/समालोचकहरूसँग साक्षात्कार गराउने कार्यक्रमको आयोजना गरेको छ।

मिति २०८१ श्रावण ११ गते शुक्रबारका दिन बागबजारस्थित युनिटी क्याफेमा सो कार्यक्रम सम्पन्न भएको हो।

सो समारोहमा विशेष वक्ताका रूपमा आमन्त्रित समालोचक डा.नेत्र एटमले ‘समकालीन नेपाली समालोचनाको मूलभूत प्रवृत्ति र भावी मार्गचित्र’का विषयमा आफ्नो धारणा राख्नु भएको थियो।

मन्तव्यका क्रममा उहाँले वर्तमान नेपाली समालोचना कृतिको सप्रसङ्ग व्याख्यामा सीमित हुँदै गएको जस्तो देखिएकाले सांस्कृतिक इतिहासका सापेक्षतामा कृतिको मूल्याङ्कन गर्नेतर्फ समालोचकहरू केन्द्रित हुनुपर्ने र समालोचनाले पाठकको दृष्टिकोण फराकिलो पार्न सक्नु पर्ने धारणा राख्नु भएको थियो।

उक्त कार्यक्रममा मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले ‘भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान’ भन्ने मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभएको थियो।

उहाँले नित्य निरन्तर नयाँ कार्यक्रमहरू संचालन गर्ने क्रममा सिद्धहस्त समालोचकहरूको समालोचनात्मक आलेखहरूलाई सङ्गृहीत गरी समालोचना विशेषाङ्क प्रकाशन गरिएको र स्रष्टा र समालोचकहरूलाई एकै ठाउँमा भेला गराई सामूहिक रूपमा पत्रिका विमोचन गर्ने सोचले कार्यक्रमको नयाँ ढाँचा तयार गरिएको विचार राख्दै उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गर्नु भएको थियो।

सो समारोहमा समालोचना विशेषाङ्कका लागि समालोचनात्मक लेख उपलब्ध गराउनु हुने समालोचकहरूमध्ये उपप्राध्यापक अनुपमा रेग्मी, उप प्राध्यापक आर.एम. डङ्गोल, डा.कौशिला रिसाल, ठाकुर बेलवासे, ठाकुर शर्मा भण्डारी, तेजविलास, प्रा.डा. भागवत ढकाल, डा.मधुसूदन गिरी, मुकुन्दप्रसाद प्रसाईं, वाशुदेव गुरागाईँ र उपप्राध्यापक हेमबहादुर भण्डारीको उपस्थिति रहेको थियो।

त्यस्तै सो विशेषाङ्कमा समावेश भएका समालोच्य कृतिका सर्जकहरूमध्ये विष्णुबहादुर सिंह, रामेश्वर राउत ‘मातृदास’ मातृका पोखरेल, गङ्गाप्रसाद भेटुवाल, दामोदर पुडासैनी किशोर आदिका साथै साहित्यकार विन्दु शर्माको उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

सो कार्यक्रममा आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाज सातौँ कार्यसमितिका पदाधिकारीहरू- कृष्णदेव रिमाल ‘शब्दसेना’, शारदादेवी भट्टराई पोखरेल, विष्णु आचार्य ‘अतृप्त’, मुकुन्दप्रसाद प्रसाईं, आविष्कार कला, बलराम पुडासैनी, रीता चालिसे खनाल, अनिल पौडेल र रामराजा ओझाको उपस्थिति रहेको थियो।

यस अघि ‘तीन तियाँ’, ‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’, ‘लेखन प्रशिक्षण कार्यशाला’,’पर्यटन साहित्य’, ‘त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम्’ लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू संचालन गर्दै आएकोमा विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरूलाई वरिष्ठ स्रष्टा/समालोचकहरू सँग साक्षात्कार गराउने उद्देश्यले यसपटक केही पृथक कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव एवम् कार्यक्रम सञ्चालक विष्णु आचार्य ‘अतृप्त’ ले सो अवसरमा जानकारी दिनु भयो ।

000

www.sahityapost.com बाट साभार 




Thursday, January 23, 2020

मित्रताको आकाश : विचारको प्रकाश - तेजविलास अधिकारी

समीक्षा

प्रारम्भ 
कवि माृतका पोखरेल (जन्म वि.सं. २०२३ असार ९ उदयपुर) नेपाली भाषामा साहित्य सिर्जना गर्ने साहित्यकार हुन् । नेपाली साहित्यको क्षेत्रमा आधा दर्जन साहित्यिक कृति प्रकाशित गरिसकेका पोखरेलको चार ओटा कवितासङ्ग्रह र दुई कथासङ्ग्रह प्रकाशित रहेका छन् । चालीसको दशकको प्रारम्भिक चरणमा नै साहित्य सिर्जना मार्फत देखा परेका पोखरेल विचारका स्रष्टा हुन् । कवितायात्रामा एउटा फरक छवि बनाइसकेका पोखरेलका कथाहरू पनि त्यतिकै सुस्वाध्य रहेका छन् । छोटो आयाममा समसामयिक सन्दर्भलाई चोटिलो पाराले बोल्ने उनका कथ्यहरूले पाठकलाई लोभ्याउने गर्दछ ।

नेपाली साहित्यमा एम ‘ए’ सम्मको अध्ययन पूरा गरेका पोखरेल आफ्ना रचनामा कला पक्षको मात्र ख्याल गर्दैनन्; उनको ध्यान विचारको बहस निर्माणको तहसम्म पुगेको हुन्छ । अर्का कवि सङ्गीत श्रोताको शब्दलाई सापटी लिएर भन्दा “उनका अभिव्यक्ति उनको चिन्तन प्रणाली र उनको जीवन–व्यवहार त्यो केवल उनको निजी होइन, उनी सम्बद्ध आन्दोलनकै वैशिष्ट्यको प्रतिरूप हो ।” कवितासङ्ग्रह र कवि मातृका पोखरेलको सिर्जनधर्ममाथिको पछिल्लो तर स्थापित वैचारिक कविको टिप्पणीबाट पनि उनको कवितामा आन्दोलनको समवेस स्वर छ भन्ने स्पष्ट रहेको छ ।

विषय-वर्णन
समालोचकको छवि बनाइसकेका डा. आर. पोखरेल कवि मातृका पोखरेललाई वर्ग सचेत चिन्तन, व्यावहारिक ज्ञान र कवि प्रतिभा तीनै कुराहरूको त्रिवेणी प्रगतिवादी कविको स्थानमा राख्दछन् । जम्मा २६ (छब्बीस) ओटा गद्य कविताहरूको सङ्ग्रहको रूपमा उनको ‘मित्रताको आकाश’ कवितासङ्ग्रह पाठक सामु बाहिर आएको छ । लेखन कला र वाचन कला दुवै हिसाबले कवि मातृका विचारलाई शालीन ढङ्गले प्रस्तुत गर्न सफल मानिएका छन् । यस अघिका कवितासङ्ग्रहहरूको तुलनामा पनि उनको यात्रा अझै परिपक्व बन्दै गएको प्रमाणित भएको छ । लेखनयात्रा केवल लेखनयात्रा मात्र होइन यो त राजनीति अभीष्ट पूरा गर्ने लामो यात्रा हो भन्छन् कवि मातृका । उनी भन्छन्, “यतिबेला सपनाका नायकहरूले नै सपनामाथि लात्ती बर्षाइरहेको कुरूप दृश्यको साक्षी भइरहेका छौं ।

के भइरहेको छ ?
आफैंलाई घेरेर बसेको छ
यतिबेला शङ्काको बादल (भर्खरै जस्तो लाग्छ, पृ. ६७)

आजको वास्तविकता यही नै हो । वास्तवमा आफन्त–आफन्त नै मिलाप रहेको छैन । बेमेलको सम्बन्धले समाज अगाडि बढ्दैन । शङ्काको सुविधा सबैलाई छ तर आफैंभित्र आफ्नै बारेमा शङ्का उत्पन्न भएपछि मान्छे अकमण्र्य बन्दछ । जीवनयात्राका क्रममा भोगिएका घटनाले आफैंलाई कमजोर र कामचोर तुल्याउँदा पनि कवि कवितामा नढाटिकन प्रस्तुत गरिदिन्छन् । यो उनको निजी अनुभव त हुँदै हो । मानवीय प्रवृत्ति बनिसकेको कुरा हामी कविताका पाठक आफ्नै मूल्याङ्कनको कसीमा यो कवितालाई राख्दा थाहा पाइहाल्छौं ।

जीवनभर
जसलाई गाली गर्दागर्दा थोकको थिएँ,
र मुद्दा हालेको थिएँ बोटोमा प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा । (ऐना, पृ.३५)

कुनै समय अत्यन्त निन्दा गरिएको व्यक्ति, वस्तु र स्थान कताकता जीवनशैली पो बन्दोरहेछ । आफ्नो जीवनमा आएको अनौठो हेरफेरप्रति कवि इमान्दार बनेर विषयलाई सपाट प्रस्तुत गरिरहेका छन् । कविता लेख्नुलाई कविले अभ्यन्तरको चाहनालाई लयात्मक अभिव्यक्ति दिनु नै हो भन्ने बुझेका छन् । ऐनाले देखाए जस्तै कविको कविताले हाम्रो जीवनभित्रका तस्वीर हाम्रो व्यवहारले प्रस्तुत गर्ने निधो गरेका छन् ।

व्यक्तिलाई भन्दा प्रवृत्तिलाई व्यङ्ग्य गर्ने र विकृति तथा विसङ्गतिका खोइरो खन्ने काममा कवि भद्र अवज्ञा नै गर्दछन् । उनका शब्दहरूले यसरी हिर्काइरहेका छन् कि, उनी यति सजिलो ढङ्गले आफ्ना अनुभवलाई सुनाइरहेका छन् ।

समकालीन सन्दर्भलाई पनि अत्यन्त सजिलो पारामा भन्ने, राख्ने कलाले कवि माृतकाको काव्यकारितालाई थप उचाइमा पु¥याएको छ । जीवन र जगत्लाई आलोचना मात्र गरेर पुग्दैन आफ्नो यात्रालाई पनि परिवर्तनतर्फ ढल्काउन सके त्यो यात्रा सोदेश्यमूलक बन्न सफल हुन्छ । देशमा स्थापना भएको लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक संस्कारको निर्माण गर्नु आजको आवश्यकता हो ।

झण्डै एक दशकभित्र लेखिएका कविताहरूको शृङ्खलालाई हेर्दा कवि आफ्नो तहबाट समाजका विकृति विसङ्गतिप्रति असहमत मात्र छैनन् त्यसको प्रष्ट चित्र कोरेर देखाउँदै यसको अन्त्य गर्नु नै पर्दछ भन्दछन् । कविलाई आफ्नो विरासतप्रति लोभ मात्र छैन त्यो इतिहास प्रत्येक नेपाली जातिको वास्तविक पहिचान हो भन्ने कथन  दोहो¥याउँछन् र भन्छन्; 

आऊ म तिमीलाई
हाम्रा जिन्दगीका सुरुवातका कथाहरू भन्छु,
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरो  पुर्खाहरूको पसिनाको गन्ध । (माटोको गन्ध, पृ. ६१)

प्रत्येक कविता एउटा सार विचार जस्तो लाग्छ । केही समस्या छैन कविताबोध गर्नका निम्ति । उनी कतै नरेश शाक्यप्रति सहानुभूति व्यक्त गर्दछन् र प्रतिनिधि पात्रको रूपमा उनको चित्रणले हजारौं योद्धाहरूको अपमान गरेकोप्रति आपत्ति प्रकट गर्दछन् । जति सजिलो ढङ्गले उनले कविता बुनेको देखिन्छ त्यसभित्र रहेक कच्चा सामग्री र समयचेत तीब्र चेती मन/मस्तिष्कले मात्र बोध गर्न सक्ला । राजनीति समस्या र समाधानका निम्ति लेखिएका यी कविताहरू एउटा विचारको दस्तावेज पनि हो । सक्नेले विचार सजिलै बोध गर्ने ढङ्गले कवितामा उन्दछन् त्यसै गर्दछन् कवि मातृका ।

निष्कर्ष
अन्त्यमा कवि मातृका पोखरेलको शालीन, सौम्य शैलीभित्र तीब्र आक्रोश कविताभित्र छताछुल्ल भएको छ । जीवन जस्तै कविता, कविता जस्तै जीवन बाँच्न खोज्ने कविको यो प्रयाश आन्तरिक छटपटीले यसपटक आक्रोशित भएको देखिन्छ । चिन्तनको तहमा पुग्न गरिएको यो वर्तमानप्रतिको चिन्ता कवितासङ्ग्रहभित्र राम्ररी प्रस्तुत भएको छ । समाजभित्रको राजनीति जीवनको प्रष्ट चित्र ‘मित्रताको आकाश’मा अङ्कन भएको छ ।

---------------------------------------------------------