Sunday, May 10, 2026

कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्न आवश्यक : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्।

कम्युनिष्ट नेता निर्मल लामाको २६ औँ स्मृतिका अवसरमा २०८२ साल वैशाख २७ गते आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अब हामीले फेरि नयाँ परिस्थितिमा आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ।’
सरकारले गणतन्त्रका उपलब्धि र श्रमजीवी वर्गमाथि नै सबैभन्दा धेरै प्रहार गरिरहेको आरोप लगाउँदै प्रचण्डले कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
‘त्यसो गर्न सकिएन भने निकै अप्ठ्यारो अवस्था आउन सक्छ। सबैभन्दा बढी त राष्ट्रिय स्वाधीनता निकै अप्ठ्यारो ठाउँमा पुगेको देखिएको छ। कम्युनिस्ट आन्दोलनलाई संकटमा धकेल्ने कसरतहरू भएरहेका छन्,’ प्रचण्डले भने ।
कार्यक्रमका अर्का विशिष्ट वक्ता कमरेड मोहनविक्रम सिंहले निर्मल लामासँगका सहकार्यको सम्झना गर्दै भने 'पछि त्यो बेला भारतमा देखापरेको नक्सलवादी आन्दोलनको हाम्रो पार्टीमा परेको असरका कारणले हाम्रो पार्टीमा पनि उग्र ‘वामपन्थी’ प्रवृत्तिहरू देखापरे र हाम्रो पार्टीमा फुट भयो । त्यो उग्र ‘वामपन्थी’ भड्कावका विरुद्ध पनि कामरेड लामा र हामीले सँगसँगै कडा सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक सङ्घर्ष गरेका थियौँ ।'
कार्यक्रममा इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष वीरप्रसाद भन्सारीले श्रद्धाञ्जलिस्वरूप 'ढुङ्गाको शालिक ढल्दैमा मेरो छातीको ढल्दैन' बोलको गीत प्रस्तुत गरेका थिए ।
निर्मल लामा लामा स्मृति प्रतिष्ठानका अध्यक्ष कामरेड लीलामणि पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष दीनानाथ शर्माले राखेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिवालय सदस्य मातृका पोखरेलले गरेका थिए ।

000






























Saturday, December 13, 2025

"त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये" कार्यक्रम सम्पन्न


विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई स्रष्टा सम्मान तथा उहाँकै रचना उहाँलाई नै सुनाउने कार्यक्रम "त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये" कार्यक्रम सम्पन्न भएको खबर छ ।

कार्यक्रममा विशेष अतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अतिथिहरू भाषा आयोगका सदस्य मातृका पोखरेल, शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्ध लेखक श्रीबाबु कार्की साथै अन्य अतिथिहरूमा विद्युतकर्मी साहित्यिक समाजका पुर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, केशव रुपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत मातृदास, कृष्णदेव रिमाल शब्दसेना हुनुहुन्थ्यो ।
कार्यक्रममा साहित्यकार लोहनीलाई माला दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियोे । त्यसैगरी"" त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये " कार्यक्रममा सम्मानित स्रष्टा पुष्कर लोहनीको 'गुजुल्टो' कथा विद्युतकर्मी साहित्यिक समाजका निवर्तमान अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाले वाचन गरी कार्यक्रमको शुरुआत भएको थियोे । त्यसपछि क्रमशः पुष्कर लोहनीले विभिन्न समयमा लेखिएका कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता रचनाहरू उहाँलाई नै श्रवण गराईएको थियोे । स्रष्टालाई स्रष्टाकै रचना सुनाउने क्रमको अन्तमा विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले पुष्कर लोहनीको बहुचर्चित कविता 'कौडी' वाचन गर्नुभएको थियोे ।
लोहनी निवास घट्टेकुलोमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियोे । कार्यक्रमको सभाध्यक्षता, कार्यक्रम बारेमा प्रकाश र सम्पूर्ण अतिथिहरूलाई स्वागत विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि विष्णुप्रसाद आचार्यले गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियोे ।

000












Saturday, August 2, 2025

‘नागार्जुन बाङ्मय जदौ पुरस्कार’ - २०८२ डा. रमेश शुभेच्छुलाई




काठमाडौं, २०८२ साउन १७ 
दाहाल यज्ञनिधिको ७२ औँ जन्मजयन्तीका अवसरमा एक विशेष समारोहका बिच युवा साहित्यकार डा. रमेश शुभेच्छुलाई नागार्जुन बाङ्मय जदौ पुरस्कार २०७२ समर्पण गरेको छ । पुरस्कारको राशी नगद रु. १५०१५ रहेको छ ।

नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईका प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सो पुरस्कार यसै वर्षदेखि दिन थालेको कुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताउनुभयाे ।

साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउन खेलेको भूमिका उल्लेख्य रहकाले उहाँलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि डा. भट्टराईले अर्पण गर्नुभयो । भट्टराईले प्रमुख अतिथिका रुपमा समारोहलाई सम्बोधन गर्दै शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताउनुभयो । उहाँले शुभेच्छुको सक्रियताको पनि चर्चा गर्दै प्रतिष्ठानले सही पात्र छनोट गरी पुरस्कृत गरेको बताउनुभयो । उहाँले थप्नुभयो पहिलो प्रतिभा योग्य भएपछि पुरस्कारको गरिमा पनि उत्तरोत्तर बढ्दै जाने परम्परा छ ।

कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो । भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बताउनुभयो । अर्का वक्ता डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको निष्कर्ष प्रस्तुत गर्नुभयो ।

डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा.रमेश शुभेच्छुको परिचय दिने क्रममा उहाँ सिर्जना समीक्षा, संगठन, पाठ्यपुस्तक लेखन र साहित्यिक पत्रकारिताका बहुआयामबाट सक्रिय प्रतिभा हुनुहुन्छ र उहाँलाई यो पुरस्कार नदिएको भए अन्याय हुने थियो भन्ने मत राख्नुभयो ।

कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोश संस्थापक सुधा दाहाल, महेश प्रसाईं, रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिनुभयो ।

समारोहमा सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुले दाहालको दैलोमा स्रष्टाहरुको लोकतान्त्रिक मोर्चा गठन र यसको विस्तारका दिनको सम्झना गर्दै उहाँ एक विशिष्ट सञ्चारकर्मी, शिक्षासेवी, साहित्यकार र समाज परिवर्तनका संवाहक अभियन्ता हुनुहुन्थ्यो भन्नु भयो । उहाँ व्यक्ति मात्र नभएर समाजको अग्रगमनको आवाज बोक्ने संस्था बन्दै जानुभएको, उहाँका नाममा आरम्भ भएको पुरस्कार पहिलो पटक प्राप्त गर्दा मलाई खुसी लागेको छ, शुभेच्छुले भन्नु भयो । ।

कार्यक्रममा अग्रज साहित्यकार, कोशकार प्रा. डा.वद्रीविशाल भट्टराई, प्रा. लालानाथ सुवेदी, डिल्लीराज अर्याल, चेतनाथ धमला, खगेन्द्र दाहाल, भीष्मराज काफ्‌ले, रुवी सत्याल, सरस्वती पाण्डे, नगिन तामाङ, शिक्षासेवी दामोदर कोइराला, भोला चालिसेलगायत सञ्चारकर्मीहरु दिनेश खरेल, कुलराज घिमिरे, लुइटेल दिनेश, जयराम बिडारी, सजना तिमल्सिना आदिको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा देवु लुइटेलले दाहालका छ वटा कविता प्रस्तुत गर्नुभएको थियो भने कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गर्नुभएको थियो ।

नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षकद्वय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि पूर्ण विरामका दुई कविता वाचन भएका थिए । तीमध्ये एएटा कविताको प्रभावकारी वाचनका लागि रु १००० नगत सहित यम बाँस्तोला पुरस्कृत हुनुभयो भने । श्रष्टा विशेष कविता वाचनमा दाहालका कविता वाचन गरेर देवकुमारी लुइटेल पनि प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो ।

०००
सरस्वती पाण्डेद्वारा संप्रेषित