Thursday, January 23, 2020

मित्रताको आकाश : विचारको प्रकाश - तेजविलास अधिकारी

समीक्षा

प्रारम्भ 
कवि माृतका पोखरेल (जन्म वि.सं. २०२३ असार ९ उदयपुर) नेपाली भाषामा साहित्य सिर्जना गर्ने साहित्यकार हुन् । नेपाली साहित्यको क्षेत्रमा आधा दर्जन साहित्यिक कृति प्रकाशित गरिसकेका पोखरेलको चार ओटा कवितासङ्ग्रह र दुई कथासङ्ग्रह प्रकाशित रहेका छन् । चालीसको दशकको प्रारम्भिक चरणमा नै साहित्य सिर्जना मार्फत देखा परेका पोखरेल विचारका स्रष्टा हुन् । कवितायात्रामा एउटा फरक छवि बनाइसकेका पोखरेलका कथाहरू पनि त्यतिकै सुस्वाध्य रहेका छन् । छोटो आयाममा समसामयिक सन्दर्भलाई चोटिलो पाराले बोल्ने उनका कथ्यहरूले पाठकलाई लोभ्याउने गर्दछ ।

नेपाली साहित्यमा एम ‘ए’ सम्मको अध्ययन पूरा गरेका पोखरेल आफ्ना रचनामा कला पक्षको मात्र ख्याल गर्दैनन्; उनको ध्यान विचारको बहस निर्माणको तहसम्म पुगेको हुन्छ । अर्का कवि सङ्गीत श्रोताको शब्दलाई सापटी लिएर भन्दा “उनका अभिव्यक्ति उनको चिन्तन प्रणाली र उनको जीवन–व्यवहार त्यो केवल उनको निजी होइन, उनी सम्बद्ध आन्दोलनकै वैशिष्ट्यको प्रतिरूप हो ।” कवितासङ्ग्रह र कवि मातृका पोखरेलको सिर्जनधर्ममाथिको पछिल्लो तर स्थापित वैचारिक कविको टिप्पणीबाट पनि उनको कवितामा आन्दोलनको समवेस स्वर छ भन्ने स्पष्ट रहेको छ ।

विषय-वर्णन
समालोचकको छवि बनाइसकेका डा. आर. पोखरेल कवि मातृका पोखरेललाई वर्ग सचेत चिन्तन, व्यावहारिक ज्ञान र कवि प्रतिभा तीनै कुराहरूको त्रिवेणी प्रगतिवादी कविको स्थानमा राख्दछन् । जम्मा २६ (छब्बीस) ओटा गद्य कविताहरूको सङ्ग्रहको रूपमा उनको ‘मित्रताको आकाश’ कवितासङ्ग्रह पाठक सामु बाहिर आएको छ । लेखन कला र वाचन कला दुवै हिसाबले कवि मातृका विचारलाई शालीन ढङ्गले प्रस्तुत गर्न सफल मानिएका छन् । यस अघिका कवितासङ्ग्रहहरूको तुलनामा पनि उनको यात्रा अझै परिपक्व बन्दै गएको प्रमाणित भएको छ । लेखनयात्रा केवल लेखनयात्रा मात्र होइन यो त राजनीति अभीष्ट पूरा गर्ने लामो यात्रा हो भन्छन् कवि मातृका । उनी भन्छन्, “यतिबेला सपनाका नायकहरूले नै सपनामाथि लात्ती बर्षाइरहेको कुरूप दृश्यको साक्षी भइरहेका छौं ।

के भइरहेको छ ?
आफैंलाई घेरेर बसेको छ
यतिबेला शङ्काको बादल (भर्खरै जस्तो लाग्छ, पृ. ६७)

आजको वास्तविकता यही नै हो । वास्तवमा आफन्त–आफन्त नै मिलाप रहेको छैन । बेमेलको सम्बन्धले समाज अगाडि बढ्दैन । शङ्काको सुविधा सबैलाई छ तर आफैंभित्र आफ्नै बारेमा शङ्का उत्पन्न भएपछि मान्छे अकमण्र्य बन्दछ । जीवनयात्राका क्रममा भोगिएका घटनाले आफैंलाई कमजोर र कामचोर तुल्याउँदा पनि कवि कवितामा नढाटिकन प्रस्तुत गरिदिन्छन् । यो उनको निजी अनुभव त हुँदै हो । मानवीय प्रवृत्ति बनिसकेको कुरा हामी कविताका पाठक आफ्नै मूल्याङ्कनको कसीमा यो कवितालाई राख्दा थाहा पाइहाल्छौं ।

जीवनभर
जसलाई गाली गर्दागर्दा थोकको थिएँ,
र मुद्दा हालेको थिएँ बोटोमा प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा । (ऐना, पृ.३५)

कुनै समय अत्यन्त निन्दा गरिएको व्यक्ति, वस्तु र स्थान कताकता जीवनशैली पो बन्दोरहेछ । आफ्नो जीवनमा आएको अनौठो हेरफेरप्रति कवि इमान्दार बनेर विषयलाई सपाट प्रस्तुत गरिरहेका छन् । कविता लेख्नुलाई कविले अभ्यन्तरको चाहनालाई लयात्मक अभिव्यक्ति दिनु नै हो भन्ने बुझेका छन् । ऐनाले देखाए जस्तै कविको कविताले हाम्रो जीवनभित्रका तस्वीर हाम्रो व्यवहारले प्रस्तुत गर्ने निधो गरेका छन् ।

व्यक्तिलाई भन्दा प्रवृत्तिलाई व्यङ्ग्य गर्ने र विकृति तथा विसङ्गतिका खोइरो खन्ने काममा कवि भद्र अवज्ञा नै गर्दछन् । उनका शब्दहरूले यसरी हिर्काइरहेका छन् कि, उनी यति सजिलो ढङ्गले आफ्ना अनुभवलाई सुनाइरहेका छन् ।

समकालीन सन्दर्भलाई पनि अत्यन्त सजिलो पारामा भन्ने, राख्ने कलाले कवि माृतकाको काव्यकारितालाई थप उचाइमा पु¥याएको छ । जीवन र जगत्लाई आलोचना मात्र गरेर पुग्दैन आफ्नो यात्रालाई पनि परिवर्तनतर्फ ढल्काउन सके त्यो यात्रा सोदेश्यमूलक बन्न सफल हुन्छ । देशमा स्थापना भएको लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक संस्कारको निर्माण गर्नु आजको आवश्यकता हो ।

झण्डै एक दशकभित्र लेखिएका कविताहरूको शृङ्खलालाई हेर्दा कवि आफ्नो तहबाट समाजका विकृति विसङ्गतिप्रति असहमत मात्र छैनन् त्यसको प्रष्ट चित्र कोरेर देखाउँदै यसको अन्त्य गर्नु नै पर्दछ भन्दछन् । कविलाई आफ्नो विरासतप्रति लोभ मात्र छैन त्यो इतिहास प्रत्येक नेपाली जातिको वास्तविक पहिचान हो भन्ने कथन  दोहो¥याउँछन् र भन्छन्; 

आऊ म तिमीलाई
हाम्रा जिन्दगीका सुरुवातका कथाहरू भन्छु,
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरो  पुर्खाहरूको पसिनाको गन्ध । (माटोको गन्ध, पृ. ६१)

प्रत्येक कविता एउटा सार विचार जस्तो लाग्छ । केही समस्या छैन कविताबोध गर्नका निम्ति । उनी कतै नरेश शाक्यप्रति सहानुभूति व्यक्त गर्दछन् र प्रतिनिधि पात्रको रूपमा उनको चित्रणले हजारौं योद्धाहरूको अपमान गरेकोप्रति आपत्ति प्रकट गर्दछन् । जति सजिलो ढङ्गले उनले कविता बुनेको देखिन्छ त्यसभित्र रहेक कच्चा सामग्री र समयचेत तीब्र चेती मन/मस्तिष्कले मात्र बोध गर्न सक्ला । राजनीति समस्या र समाधानका निम्ति लेखिएका यी कविताहरू एउटा विचारको दस्तावेज पनि हो । सक्नेले विचार सजिलै बोध गर्ने ढङ्गले कवितामा उन्दछन् त्यसै गर्दछन् कवि मातृका ।

निष्कर्ष
अन्त्यमा कवि मातृका पोखरेलको शालीन, सौम्य शैलीभित्र तीब्र आक्रोश कविताभित्र छताछुल्ल भएको छ । जीवन जस्तै कविता, कविता जस्तै जीवन बाँच्न खोज्ने कविको यो प्रयाश आन्तरिक छटपटीले यसपटक आक्रोशित भएको देखिन्छ । चिन्तनको तहमा पुग्न गरिएको यो वर्तमानप्रतिको चिन्ता कवितासङ्ग्रहभित्र राम्ररी प्रस्तुत भएको छ । समाजभित्रको राजनीति जीवनको प्रष्ट चित्र ‘मित्रताको आकाश’मा अङ्कन भएको छ ।

---------------------------------------------------------